दमाैली । राप्रपाले तनहुँका दशवटै पालिकामा नेतालाई जिम्मेवारी तोकेको छ । तनहुँका चार नगरपालिका र छ गाउँपालिकामा केन्द्रीय सदस्यले जिम्मेवारी पाएका छन् ।
आँबुखैरेनी, बन्दीपुर र देवघाटमा गौमाया श्रेष्ठ, भानु, व्यास, म्याग्दे र ऋषिङमा जयलाल पुन र शुक्लागण्डकी, भिमाद र घिरिङमा शोभा गुरुङलाई जिम्मेवारी दिएको छ ।
जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने छ । उनीहरूले गरेका कामको अनुगमन तथा मूल्यांकन पार्टीका प्रदेश संयोजक र सह-संयोजकहरुले गर्नेछन् ।
राप्रपाले राजसंस्था, हिन्दू राष्ट्र र संघीयता सम्बन्धी पार्टीको अवधारणालाई जनताको घरदैलोमै पुर्याउने लक्ष्य लिएको छ । जिम्मेवारी तोकिएका नेताहरूले भ्रष्टाचार र भ्रष्टाचारविरुद्ध पार्टीका अवधारणाहरूलाई प्राथमिकताका साथ राख्ने तथा नयाँ पुस्तालाई पार्टीमा जोड्ने विशेष अभियान सञ्चालन गर्ने काम गर्नेछन् । तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेताहरू स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित पेश गर्नुपर्ने छ । ६ महिनापछि भूगोलको जिम्मेवारी हेरफेर हुन सक्ने जनाइएको छ ।